राज याक्खा, ताप्लेजुङ्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन शनिबार उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै संगठनलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।
अधिवेशनबाट राजनकुमार गुरुङ जिल्ला सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी मानबहादुर तामाङ उपसभापति, लिलाप्रसाद पौडेल सचिव तथा गोपाल गुरागाईं सहसचिवमा चयन भएका छन्। सदस्यहरूमा कमल लेछ्रवो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा निर्वाचित भएका छन्।
अधिवेशनमा प्रतिनिधिसभा सदस्य तथा रास्वपाका नेता मिङमा डेविट शेर्पा लगायत विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिक अभ्यासलाई संस्थागत गर्दै जिल्लामा पार्टीको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए
।
यसैबीच अधिवेशनकै अवसरमा युवा सहभागिताले विशेष चर्चा पाएको छ। युवा अभियन्ता रुपेश लेछर्बो लिम्बूको नेतृत्वमा १५० भन्दा बढी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी युवाहरूलाई पार्टी नेतृत्वले स्वागत गर्दै परिवर्तन, विकास र समृद्धिको अभियानमा युवाशक्तिको भूमिका निर्णायक हुने बताएका थिए।एकैपटक ठूलो संख्यामा युवाहरू पार्टीमा आबद्ध हुनु ताप्लेजुङमा रास्वपाप्रति बढ्दो जनविश्वास र आकर्षणको संकेतका रूपमा हेरिएको छ। नवप्रवेशी युवाहरूले स्वच्छ राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वको अपेक्षासहित पार्टीमा आबद्ध भएको बताएका छन्।

नयाँ नेतृत्व चयन र उल्लेखनीय युवा प्रवेशसँगै सम्पन्न भएको रास्वपा ताप्लेजुङको प्रथम जिल्ला अधिवेशनलाई जिल्लाको राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धि तथा संगठन विस्तारको नयाँ अध्यायका रूपमा लिइएको छ। पार्टीले आगामी दिनमा जनताका मुद्दालाई प्राथमिकतामा राख्दै जिल्लाभर आफ्नो संगठनात्मक गतिविधि थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।




