किरात धर्मको विकल्पमा युमा धर्म-प्राज्ञ बैरागी काइँला

धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ ।

मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका लिम्बुजातिमा तीव्र बहस र तरंग सिर्जना गरेको छ । हंगकङ र बेलायतमा बस्ने लिम्बुहरु पनि धरान घोषणापत्रबाट निर्णयबाट तरंगित भएका छन् ।

मुन्धुमका ज्ञाता बैरागी काइँलाका अनुसार धरानमा आयोजित यो धर्मसभा करिब एक सय वर्षपछि दोस्रोपल्ट गरिएको हो । विसंं १९८८ मा तेह्रथुममा यस्तो चुम्लुङ (सभा) आयोजना भएको थियो । सो सभाले लिम्बु समुदायको बिहे आदिमा फजुल खर्च घटाउने लगायतका निर्णयहरु गरेको थियो ।

किरात धर्मको विकल्पमा युमा धर्म !

याक्थुम्वा लिम्बुहरुले अब किरात धर्मको साटो ‘युमा धर्म’ मान्ने घोषणा गरेका छन् । लिम्बुहरुको धर्मग्रन्थ्र मुन्धुमअनुसार युमा भनेकी सृष्टिकालकी देवी हुन् । लिम्बुहरु प्रकृतिपूजक हुन् ।

धरानमा मंगलबार सम्पन्न धर्मसम्बन्धी दुई दिने गोष्ठी एवं धर्मसभाले एक बुँदे घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा युमा धर्म अवलम्वन गर्ने बताउँदै भनिएको छ- ‘याक्थुम्वा -लिम्बु/सुब्बा) जातिको मौलिक धर्म, संस्कृतिको संरक्षण, सम्वर्धनकका लागि याक्थुम्बा जातिले अनुसरण गरी ल्याएको परम्परागत धर्म संस्कृति र संस्कार नै युमा धर्म हो भनी घोषणा गर्दछ ।’

नेपालका साथै भारतको सिक्किम, दार्जीलिङ, आसाम, डुबर्स, मिरिक, कालेबुङ, सिलिगुडीलगायतका स्थानबाट लिम्बु प्रतिनिधिहरु सहभागी भएको धर्मसम्बन्धी गोष्ठीमा प्राज्ञ बैरागी काइँला प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । सभामा कलेजका प्रोफेसरका साथै लिम्बु समुदायका फेदाङबा, येवाहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा नेपालबाट चैतन्य सुब्बा, अर्जुनबाबु माबुहाङ लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए भने भारतबाट आर.आर. खजुम र तेजबहादुर वाइवा लगायतले कार्यपत्र पेश गरेका थिए ।

अहिलेसम्म नेपालको राष्ट्रिय जनगणनामा लिम्बु समुदायले आफ्नो धर्म किरात लेखाउँदै आएका थिए । जनगणनामा किरात धर्मलाई चौथो धर्मका रुपमा देखाइएको छ । तर, अब लिम्बु समुदायले किरात धर्म नलेख्ने निर्णय गरेसँगै धार्मिक तथ्यांकमा फेरबदल आउन सक्ने सम्भावना बढेको छ ।

अहिलेसम्म किरात धर्म लेख्नेहरुमा लिम्बु, राई, सुनुवार याख्खा, याम्फूहरुसमेत रहेका छन् । तर, लिम्बु समुदाय अब किरात धर्मबाट बाहिरिने निर्णयमा पुगेको छ ।

लिम्बूहरुको कान फुक्नुपर्दैन : बैरागी काइँला

कार्यक्रममा करिब ४० मिनेट मन्तव्य दिएका मुन्धुमविद बैरागी काइँलाले लिम्बुजातिको धर्म र संस्कृति संकटमा पर्दै गएको बताए । पञ्चायत कालमा हिन्दुहरुको बालवाला भएकाले आफूहरुले जनगणनामा ‘किरात धर्म’ लेखाएको उनले बताए ।

‘त्यसबेला किरातै लेखाउनुपर्छ भनेर हिँड्ने एकजना म पनि हुँ,’ बैरागी काइँलाले कार्यक्रममा भने, ‘जब हाम्रो जातीय अस्थित्व संकटमा पर्‍यो, एक्लै लड्न नसक्ने अवस्थामा पुगियो । त्यसले गर्दा हामीले मोर्चाबन्दी गर्नुपर्‍यो ।’

तर, अब लिम्बुजातिले किरात धर्मको साटो आफ्नो परम्परादेखि मानी आएको युमा धर्म मान्नुपर्ने र लिम्बुजातिको अस्थित्व जोगाउनुपर्ने उनले सुझाव दिए ।

लिम्बु समुदायका अभिभावक, साहित्यकार एवं संस्कृतिविद काइँलाले अगाडि भने- ‘लिम्बुले मानेको किरातभित्र युमा नै हो । राईले के लेख्छन्, उनीहरु जानुन् । सुनारले जे लेख्छन्, लेखुन्, याख्खाले जे लेख्छन् लेखुन् । एउटा ‘कमन फयाक्टर’ मात्रै किरात थियो ।’

लिम्बुहरुमाझ चर्चित रहेको सत्यहाङमा पन्थलाई बैरागी काइँलाले धर्म परिवर्तनको संज्ञा दिए ।

उनले भने- ‘लिम्बुले परम्परादेखि पालना गर्दै आएको धर्म युमा धर्म नै हो । आस्था परिवर्तन भनेको धर्म परिवर्तन हो । सत्यहाङमा भनेको धर्म परिवर्तन नै हो । कान फुकेर मात्रै लिम्बु हुने हामी ? हामीले त जन्मजात पाएको हो ।’

तर, आफूहरुले सत्यहाङमा पन्थीहरुलाई हाम्रो झण्डा बोक् भनेर कर गर्न नहुने उनले बताए । संसारमा एउटै धर्मका दुई समुदायवीच द्वन्द्व हुने गरेको उदाहरण दिँदै काइँलाले लिम्बुहरुले त्यसो गर्न नहुने बताए ।

सत्यहाङमापन्थी तरंगित, फेसबुकमै भनाभन

धरानमा लिम्बु समुदायका फेदाङबा र येवाहरुले बहस गरिरहेका बेला उता किरात धर्मगुरु आत्मानन्द लिङदेको बसोबास रहेको इलामको लारुम्बामा ठूलै तरंग आएको छ ।

आत्मानन्द लिङदेन आफूलाई धर्मगुरु फाल्गुनन्दका चेला बताउँछन् । र, उनीहरुका चेला पूर्वी नेपालमा धेरै छन् । उनीहरुले मान्दै आएको किरात धर्मलाई ‘सत्यहाङमा पन्थ’ समेत भन्ने गरिन्छ ।

लिम्बु समुदायमा दुई प्रकारका धर्म संस्कारहरुको अभ्यास हुने गरेको छ । परम्परावादी लिम्बुहरुले पूजा आजामा कुखुरा, अण्डा र जाँड रक्सी चढाउने गर्छन र उनीहरु आफूलाई युमा साम्यो पन्थी बताउँछन् । सत्यहाङमापन्थीले चाहिँ जाँड रक्सी र मासुको प्रयोग गर्दैनन्, उनीहरु लिम्बुको कानमा मन्त्री फुकेर शाकाहारी साधु बनाउने गर्छन् ।

सत्यहाङमापन्थीहरुले हिन्दुधर्मको नक्कल गरेको र लिम्बेको मौलिकता छाडेको परम्परावादीहरुको आरोप छ । त्यस्तै परम्परावादीहरुले धर्मका नाममा रुढीवाद र विकृतिलाई छाड्न नसकेको हुुनाले फाल्गुनन्दले सत्यहाङमा पन्थको विकास गरेर लिम्बु समाजमा सुधार ल्याएको आत्मानन्द लिङदेनका अनुयायीहरुको मत छ ।

यही मतान्तरका कारण सत्यहाङमापन्थी लिम्बु समुदायले धरानको घोषणालाई अस्वीकार गरेको छ । र, उसले लिम्बु समुदायले युमा धर्मको साटो किरात धर्म नै अपनाउनुपर्ने तर्क गरेको छ ।

यो दुईवटा धारका कारण अब लिम्बु समुदायमा धर्मका नाममा सशक्तरुपमा दुईवटा धारहरुवीचको वैचारिक संघर्ष सतहमा आएको छ ।

यी दुई धारका साथै लिम्बु समुदायमा क्रिश्चियानिटी पनि बढिरहेको छ, जसले लिम्बुहरुको परम्परागत संस्कृतिलाई कमजोर पारिरहेको छ । यसका साथै केही लिम्बुहरु हिन्दुकृत पनि भएका छन् ।

धरान घोषणापत्रले किरात धर्मको साटो युमा धर्म मनाउने घोषणा गर्नासाथ सामाजिक सञ्जालमा तीव्र बहस र विवादहरु देखिएका छन् । सत्यहाङमा पन्थी र युमापन्धीवीच आरोप-प्रत्यारोप सघन बनेको छ ।

यसैबीच किरात धर्मका ज्ञाता एवं सत्यहाङमा पन्थका विचारक डा. चन्द्रकुमार शेर्माले युमापन्थी बैरागी काइला (नेम्वाङ) को कडा आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘बैरागी काइँला मासेबुङ (इलाम) मा पापबाट विमोचित भएँ भन्ने ! नेम्वाङ कुलपितृ लतिपा चुक्मिबा मान्ने ! युमा धर्म लिम्बुको मौलिक भनी त्रिधार बोल्ने ?’

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु