विराटनगर । झापाको मेचीनगर–१० धुलाबारी माइती भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका श्रीमान् विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
भारतको नक्सलवारीमा श्रीमान्सँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव केही दिनअघि कोठाभित्र कुहिएको अवस्थामा फेला परेको थियो। हेमाको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै माइती पक्षले भारतीय प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले हेमाका पति विप्लवलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई शनिबार सिलिगुडी अदालतमा पेश गरिएको भारतीय प्रहरीले जनाएको छ।
माइती पक्षका अनुसार करिब दुई वर्षअघि विप्लव कामका लागि धुलाबारी आएका बेला हेमासँग चिनजान भएको थियो। त्यसपछि विप्लवले हेमालाई फकाएर भारत लगेको माइती पक्षको भनाइ छ।
केही समयअघि विप्लव ‘काम गर्न जान्छु’ भन्दै एक साताका लागि घरबाहिर गएको र त्यही अवधिमा हेमाको हत्या भएको हुनसक्ने माइती पक्षले आशंका गरेको छ।
भारतीय प्रहरीले घटनाको कारण र हत्याको परिस्थितिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


