तुम्बापाे द्वारा बिधालयलाई ७० हजार नगद सहयोग

 

अजेन्द्र वाईबा तामाङ
असाेज ८,फिदिम
पाँचथरको फिदिम नगरपालिका–२, ओदिनमा अबस्थित श्री आदर्श आधारभूत विद्यालयमा आवासीय रूपमा अध्ययनरत बालबालिकाका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्न नयाँ खानेपानी संरचना निर्माण गरिएको छ। विद्यालयमा हाल आवासीयतर्फ १४ जना साना बालबालिका बसोबास तथा अध्ययनरत रहेका छन्।
खानेपानी संरचना निर्माणका लागि फिदिम नगरपालिका–२, ओदिन निवासी तथा हाल धरान उपमहानगरपालिका–८, सुनसरीमा बस्दै आउनुभएका धनराज तुम्बापोले ७० हजार रुपैयाँ सहयोग गर्नुभएको हो।
उक्त सहयोग रकमबाट २ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की खरिद, ट्याङ्की राख्ने स्ट्यान्ड निर्माण, आवश्यक संरचना तथा विद्यालय परिसरमा पानी खाने धारा निर्माण गरिएको हो। बालबालिकाको स्वास्थ्य र स्वच्छ खानेपानीको आवश्यकतालाई मध्यनजर गर्दै संरचना निर्माण गरिएको विद्यालयले जनाएको छ।
सहयोगी दाता खोजी तथा समन्वयको महत्वपूर्ण भूमिका रञ्जन ओझाले निर्वाह गर्नुभएको थियो। ओझाले दातासँग समन्वय गरी सहयोग रकम जुटाउनुका साथै प्राप्त रकमलाई विद्यालयको खानेपानी संरचना निर्माणमा परिचालन गर्न समन्वय गर्नुभएको थियो। ट्याङ्की खरिददेखि स्ट्यान्ड तथा अन्य आवश्यक संरचना निर्माण, निर्माण कार्यको व्यवस्थापन र अन्ततः सम्पूर्ण संरचना विद्यालयलाई हस्तान्तरण गर्ने कार्यसमेत उहाँकै समन्वय तथा व्यवस्थापनमा सम्पन्न भएको जनाइएको छ।
समुदायको सहकार्यमा संरचना निर्माण
खानेपानी संरचना निर्माणमा दाताको आर्थिक सहयोगसँगै स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति र विभिन्न संस्थाको समेत सहकार्य रहेको छ।
निर्माण कार्यमा हात्तीसुडे खानेपानी आयोजनाबाट प्राविधिक तथा पाइपसम्बन्धी सहयोग प्राप्त भएको थियो। त्यस्तै, फिदिम खानेपानी तथा सरसफाइ समितिबाट प्राविधिक सहयोग उपलब्ध भएको थियो। स्थानीय बासिन्दाहरूले समेत आवश्यक सहयोग तथा सहभागिता जनाएका थिए।
विद्यालय व्यवस्थापन समिति र आवासीय विद्यालय व्यवस्थापन समितिको समन्वय तथा सहयोगले निर्माण कार्यलाई सहज बनाएको विद्यालय पक्षले जनाएको छ।
निर्माण सम्पन्न भएपछि खानेपानी ट्याङ्की, स्ट्यान्ड, धारा तथा सम्बन्धित संरचना विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। अब उक्त संरचनाको प्रयोग तथा नियमित व्यवस्थापन विद्यालयले गर्नेछ।
बालबालिकाको स्वास्थ्य र सुविधामा सहयोग पुग्ने अपेक्षा
आवासीय रूपमा विद्यालयमै बसोबास गर्दै आएका साना बालबालिकाका लागि स्वच्छ र पर्याप्त खानेपानीको उपलब्धता अत्यन्त महत्वपूर्ण हुने भएकाले नयाँ संरचनाले उनीहरूको दैनिक जीवनमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयमा निर्माण गरिएको खानेपानी संरचनाले बालबालिकालाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नुका साथै विद्यालयको समग्र सरसफाइ तथा खानेपानी व्यवस्थापनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
खानेपानी संरचना हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी तुम्बापो, आवासीय विद्यालय व्यवस्थापन समिति अध्यक्ष भावना ईङवा, विद्यालयका प्रधानाध्यापक रञ्जु कटुवाल, स्थानीय व्यक्तित्व मनबहादुर तुम्बापो, फिदिम नगरपालिका–२ का पूर्व वडा सदस्य तथा पूर्व जनप्रतिनिधि नारायण बसगाईं, स्थानीय समाजसेवी लाखबहादुर तुम्बापो, स्थानीय अग्रज व्यक्तित्व मानबहादुर तुम्बापोलगायत विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
विद्यालयमा आवश्यक आधारभूत संरचना निर्माणका लागि व्यक्तिगत दाता, स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति तथा सम्बन्धित खानेपानी संस्थाहरूबीच भएको सहकार्यले सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागिताको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
विद्यालय पक्षले खानेपानी संरचना निर्माणका लागि आर्थिक सहयोग गर्ने धनराज तुम्बापो, दाता खोजी तथा समन्वय गर्ने रञ्जन ओझा, प्राविधिक सहयोग गर्ने हात्तीसुडे खानेपानी आयोजना र फिदिम खानेपानी तथा सरसफाइ समिति तथा सहयोग गर्ने सम्पूर्ण स्थानीयवासीहरुप्रति आभार व्यक्त गरेको छ।

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित