डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

पाँचथर,
 
सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ । यहाँका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले बगाउने समस्या आएको हो ।
पूर्वी पहाडलाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर कोरिडोरअन्तर्गत्का सडकमा आठ वटा खोलामाथि पुल निर्माण भइरहेका छन । पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सीमामा पर्ने हेँवा खोला र पाँचथर र धनकुटा जिल्लाको सीमामा पर्ने नावा खोलामा बाढीले अवरोध सिर्जना हुँदै आएको छ । दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढीले पटकपटक क्षति पुर्‍याउँदै आएको हो । केही ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारीका साधन पार गर्न सक्दैनन । दुई पाङ्ग्रे सवारीसाधन झोलुङ्गे पुलबाट तार्ने गरिएको छ भने अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाट पार गर्दछन् ।
अकस्मात पानीको बहाव बढेर जोखिम हुने गरेको तुम्बेवा गाउँपालिका–२ लखुवाका राजकुमार देवानले बताउनुभयो । “जोखिम मोलेर सवारीसाधन पार गर्ने गरिएको छ”, देवानले भन्नुभयो, “डाइभर्सन बनायो भने कतिबेला बगाउँछ, टुङ्गो नै हुँदैन ।” ताप्लेजुङ, तेह्रथुम र पाँचथरका सयौँ सवारीसाधन र ढुवानीका साधन दैनिक रूपमा तमोर कोरिडोर सडक हुँदै सञ्चालन हुने गरेका छन । नावालगायत खोलामा पुल निर्माणले भने गति लिइरहेको छ ।
यता, तमोर कोरिडोरअन्तर्गत पर्ने हेँवा खोलाको माझीटारमा पटकपटक बाढीले डाइभर्सन बगाउने गरेको छ । हेँवा खोलाको मुहान क्षेत्र ठूलो रहेको र वर्षा भइरहने हुँदा यहाँ बाढी आइरहने स्थानीय बताउँछन् । नियमित वर्षाका कारण गत चैतदेखि बाढी आएर डाइभर्सन बगाएको छ । “अघिल्ला वर्षहरूमा असारसम्म डाइभर्सनले थाम्दथ्यो”, हिलिहाङ–७ माझीटारका रामकुमार माझीले भन्नुभयो, “यो वर्ष चैतदेखि नै यातायात अवरुद्ध भएका छन् ।”
यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ तथा उत्तरी पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाबाट तमोर कोरिडोर सडक हुँदै तराईतर्फ सञ्चालन हुने सवारीसाधन मेची राजमार्गबाट फिदिम-शिवादोभान हुँदै घुम्नु पर्ने बाध्यता छ । तमोर कोरिडोर सडक आयोजना र निर्माण कम्पनीले नियमित रूपमा डाइभर्सन मर्मत तथा व्यवस्थित संरचना निर्माणका लागि चासो नदेखाउँदा समस्या भएको हिलिहाङ-५ का वीरेन्द्र मंग्रातीले बताउनुभयो । “एक पटक बाढीले बगाएपछि लामो समयसम्म डाइभर्सन मर्मत नहुँदा छोटो दूरीको सडकको उपयोग नै हुन सकेको छैन”, मंग्रातीले भन्नुभयो, “यस क्षेत्रबाट सदरमुकाम जान पनि धेरै घुम्नु परेको छ ।”
त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा थापिएको डाइभर्सन बाढीले पटकपटक बगाउँदा यात्रुले सास्ती खेप्दै आएका छन् । दोभानेमा तीन वर्षअघि बाढीले सडक पुल बगाएपछि डाइभर्सनका माध्यमबाट सवारीसाधन आवातजावतको प्रबन्ध गरिएको हो । तर, धेरै पटक बाढीले डाइभर्सन बगाएको छ । यस वर्षको जेठ ८ गते अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएको थियो ।
लामो समय सडक अवरुद्ध हुन नदिई खोलामा पानीको बहाव घटेको समयमा डाइभर्सन निर्माण गर्ने गरिएको याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले बताउनुभयो । “खोलाभन्दा माथि पनि धेरै नागरिक हुनुहुन्छ । त्यसैले खोला घटनासाथ डाइभर्सन बनाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “तर, जति पटक बनायो, त्यति नै पटक बगाइरहेको छ ।”
निर्माणाधीन सडक पुल यस वर्ष बाढीले बगाएपछि कहिले नयाँ पुल निर्माण होला भन्ने चिन्तामा स्थानीयवासी छन् । यस वर्ष वर्षायाम सुरु नहुँदै बाढी पहिरोको जोखिम बढ्नुका साथै खोला तर्ने अवस्था नभएपछि स्थानीय गहिरो चिन्तामा परेको याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले उल्लेख गर्नुभयो ।
यसैबीच, बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डाइभर्सन नहुँदा अवरुद्ध सडकलाई नियमित सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि सम्बन्धित स्थानीय तह, आयोजना कार्यालय र निर्माण व्यवसायीलाई आग्रह गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु