अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन),
नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डाको रु ५४५, मध्यम (मिडियम) अण्डाको रु ५१५ तथा सानो अण्डाको प्रतिपेटी रु तीन हजार कायम गरिएको छ । यसअनुसार  खुद्रा बजारमा  अण्डाको मूल्य करिब रु २५  भएको छ ।
सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो ।
पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको देखिन्छ । वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट रु ४६५ रहेकामा नयाँ मूल्य रु ५६० पुगेको छ, जुन रु ९५ अर्थात् करिब २० प्रतिशतले बढी हो । सोही अवधिमा ठूलो अण्डाको मूल्य रु ४९० बाट रु ५४५, मिडियम अण्डाको रु ४०० बाट रु ५१५ तथा सानो अण्डाको प्रतिपेटी मूल्य रु २ हजार ३०० बाट रु तीन हजार पुगेको छ ।
सङ्घका अनुसार पछिल्ला केही सातायता अण्डाको उत्पादन घट्नुका साथै बजार माग बढ्दा मूल्यमा निरन्तर सुधार आएको हो । किसानले दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै जाँदा मूल्य समायोजन आवश्यक भएको सङ्घका अध्यक्ष पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार हाल अण्डाको उत्पादन लागत प्रतिगोटा रु १९ दशमलव १२ पर्ने गरेको छ । नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन् । लामो समयपछि अण्डाको बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको अध्यक्ष पोखरेलको भनाइ छ । उहाँले पछिल्लो समय नेपालमा पर्यटकको आगमन बढ्नु, सीमा क्षेत्रमा अण्डाको आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग बढ्नुलेसमेत अण्डाको मूल्य सुधारमा सहयोग पुगेको बताउनुभयो ।
किसानले अहिले लागत नजिकको मूल्य पाए पनि उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट  सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले उत्पादन लागत घटाउने तथा बजारलाई व्यवस्थित बनाउने उपाय अवलम्बन गर्नसके हालको मूल्य अवस्था कायम राख्न सकिने धारणा व्यक्त गर्नुभयो ।
  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु