राज याक्खा,
किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ माघ २५ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने भएको छ।
प्रतियोगिता माङसेबुङ गाउँपालिका–५ मा अवस्थित आत्मानन्द रंगशालामा सञ्चालन गरिने भएको हो। प्रतियोगिता सञ्चालनबारे जानकारी आत्मापवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत दिनुभएको हो।
आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा प्रतिष्ठित महिला फुटबल क्लबलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ। नेपालतर्फबाट
फेयर फुटबल क्लब सुनसरी,
जनता सेवेन क्लब इलाम,
मिक्लाजुङ फुटबल क्लब पाँचथर,
दारिम्बा फुटबल क्लब याङवरक पाँचथर,
बेलबारी फुटबल क्लब मोरङ,
पद्मा स्पोर्टस क्लब ओखलढुंगा
लेटाङ फुटबल क्लब मोरङ सहभागी हुनेछन्।
त्यसैगरी भारतबाट पाहुना टोलीका रूपमा हिमालय फुटबल क्लब, कर्साङको सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेता टिमले नगद ३ लाख ७० हजार रुपैयाँ र उपविजेता टिमले २ लाख ७० हजार रुपैयाँ नगदका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्। साथै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र उत्कृष्ट डिफेन्स विधामा समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने अध्यक्ष आङबुहाङले जानकारी दिनुभयो।
किरात धर्मगुरुमाज्यूको जन्मोत्सवको अवसरमा फुटबल प्रतियोगितासँगै महिला ब्याडमिन्टन, म्याराथन, छेलो हान्ने, धनुबाँड हान्ने, हाँडी फुटाई लगायतका विविध खेलकुद कार्यक्रमहरू समेत आयोजना गरिने छन्।
खेलकुद कार्यक्रमहरू किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा नोमाङगेन्ना महा सेवा समारोह तथा आत्मा–पवित्र खेलकुद समितिको आयोजनामा सम्पन्न हुने जनाइएको छ।




