मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप २०८२ अन्तर्गत सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम क्वाटरफाइनलमा सिदिङ्वा गाउँपालिकालाई २–१ ले पराजित गर्दै मेरिङदेन अगाडि बढेको हो। खेलको ७औँ र ३८औँ मिनेटमा अनुष्का शेर्पाले लगातार दुई गोल गर्दै टिमलाई बलियो अग्रता दिलाइन्। सिदिङ्वाबाट हिमा राईले ७०औँ मिनेटमा गोल गरे पनि खेल मेरिङदेनकै पक्षमा रह्यो।
यससँगै मेरिङदेन गाउँपालिकाले सेमिफाइनलमा पाथीभरा याङवरकसँग प्रतिस्पर्धा गर्ने भएको छ। पाथीभराले आठराई त्रिवेणीलाई ट्राइबेकरमा ३–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। यस्तै, तेस्रो क्वाटरफाइनलमा फुङलिङ नगरपालिकाले फक्ताङलुङ गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो। सम्झना लावती, सुजता लिम्बू र समीक्षा मगरको गोल फुङलिङका लागि निर्णायक रह्यो।
फुङलिङले अब सेमिफाइनलमा मैवाखोला गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ। मैवाखोलाले उद्घाटन खेलमै सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले हराउँदै अन्तिम चरणमा पुगिसकेको थियो। प्रतियोगिताका विजेताले ट्रफी सहित नगद दुई लाख दुई हजार ८२ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेतालाई एक लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। आयोजक कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङका अनुसार प्रतियोगिताको फाइनल मंसिर २० गते हुनेछ।




