अजेन्द्र वाईबा तामाङ
भदौ २९ पाँचथर
पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमीस्थित युवा वर्षा माध्यमिक विद्यालयमा नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजना तथा इलाका प्रहरी कार्यालय रवि, पाँचथरको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय नागरिकका गुनासा, समस्या तथा सुझावहरू संकलन गरी सुनुवाइ गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी श्री वासुदेव दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्री अनिस कुमार कर्णलगायत सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय नागरिक गरी करिब १२० जनाको सहभागिता रहेको थियो। सहभागी स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित शान्ति सुरक्षा, सामाजिक समस्या तथा अन्य विषयमा गुनासा, समस्या र सुझाव प्रस्तुत गरेका थिए। प्राप्त गुनासा तथा सुझावमाथि सम्बन्धित निकायका प्रतिनिधिहरूले आवश्यक जानकारी तथा समाधानका उपायबारे छलफल गरेका थिए।
सो अवसरमा प्रहरीले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथाम गर्ने, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा न्यूनीकरण गर्ने, साइबर अपराधबाट सुरक्षित रहने, बालविवाह न्यूनीकरण गर्नेलगायतका समसामयिक विषयमा सहभागीहरूलाई सचेतनामूलक जानकारी प्रदान गरेको थियो।
कार्यक्रममार्फत समुदाय र प्रहरीबीचको सम्बन्ध थप सुदृढ गर्दै स्थानीयस्तरमा देखिएका सुरक्षा तथा सामाजिक समस्याको पहिचान र समाधानमा नागरिकको सहभागिता अभिवृद्धि गर्ने उद्देश्य रहेको बताइएको छ।
प्रहरीले यस्ता नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रमले नागरिकका गुनासा प्रत्यक्ष रूपमा सुन्ने, सुरक्षा चुनौती पहिचान गर्ने तथा अपराध नियन्त्रणमा समुदायको सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।




