विराटनगर – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ ।
कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट भएर तनाव उत्पन्न हुन पुगेको हो । स्थिति नियन्त्रणमा लिन कारागार प्रशासन र सुरक्षाकर्मीले हस्तक्षेप गरी चौकीदार विशाल निरौलासहित १८ जनालाई बाहिर निकालेका हुन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासक राजन घिमिरेका अनुसार घटनापछि बाहिर निकालिएका कैदीबन्दीलाई तत्काल कारागारभित्रै राख्ने अवस्था नरहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरूलाई कुन कारागारमा पठाउने भन्ने निर्णय भइसकेको छैन । कारागार स्रोतका अनुसार केही समयदेखि ‘बी ब्लक’मा रहेका कैदीबन्दीको गतिविधिलाई लिएर विवाद हुँदै आएको थियो । कारागारभित्र अराजक गतिविधि गर्ने केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेपछि उनीहरूले ‘बी ब्लक’ कब्जा गरेको स्रोतको दाबी छ ।
कैदीबन्दीले ब्लकभित्रबाटै ताला लगाएपछि केही समय प्रशासनले हस्तक्षेप गर्न सकेको थिएन । त्यही विषयलाई लिएर कारागारभित्रै दुई पक्षबीच विवाद चर्किएको र शुक्रबार कुटाकुटको अवस्था सिर्जना भएको घिमिरेले बताए । स्रोतका अनुसार ‘बी ब्लक’ कब्जा गरेर बसेका कैदीबन्दीलाई अन्य कैदीबन्दीले कुटपिट गर्दै बाहिर निकालेका हुन् । घटनापछि सुरक्षाकर्मीको टोली कारागारभित्र पुगेको थियो । बाहिर निकालिएका १८ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगिएको हो । कारागार स्रोतले बाहिर निकालिएकामध्ये अधिकांश आपराधिक पृष्ठभूमिका अभिषेक गिरीका समर्थक रहेको दाबी गरेको छ । गिरीको निर्देशनमा चौकीदारसहित केही कैदीबन्दीले ‘बी ब्लक’ नियन्त्रणमा लिएको बताइन्छ ।
कैदीबन्दीको सरकारी भत्तासम्बन्धी रकम आफैंले लिएको आरोपमा गिरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त आरोपमा पक्राउ परेका गिरी अदालतको आदेशपछि रिहा भइसकेका छन् । यद्यपि, उनीमाथिको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ । कारागारभित्र ‘बी ब्लक’ नियन्त्रणमा लिएर अन्य कैदीबन्दीलाई धम्क्याउने, यातना दिने तथा रकम असुल्ने गरेको आरोपसमेत लागिरहेको छ । यही विषयलाई लिएर असन्तुष्ट रहेका कैदीबन्दीले गिरी पक्षका कैदीबन्दीलाई कुटपिट गरी सुरक्षाकर्मीको जिम्मा लगाएको स्रोतले जनायो ।
घटनामा कुनै कैदीबन्दीलाई चोटपटक नलागेको कारागार प्रशासक घिमिरेले बताए । तर, विवादमा संलग्नलाई पुनः सोही कारागारमा राख्दा सुरक्षा चुनौती उत्पन्न हुनसक्ने देखिएपछि बाहिर निकालिएकालाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी गरिएको उनको भनाइ छ ।
घटनापछि कारागारको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । कारागारभित्रको विवादको वास्तविक कारण र घटनामा संलग्न कैदीबन्दीको भूमिकाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।



