सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् ।
पाँचपोखरी थाङपाल गाउँपालिकास्थित थाङपाल भ्याली माध्यमिक विद्यालयका छात्रछात्राले खाजा खर्च कटाएर प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५४ हजार ५५५ रुपियाँ पठाएको प्रधानाध्यपक राजु तामाङले बताउनुभयो । विद्यालयमा रहेको बाल क्लबको सक्रियतामा विद्यार्थीहरूले खाजाको पैसा सहयोग गरेका हुन् ।
मेलम्ची नगरपालिकास्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका छात्रछात्राहरूले खाजा खर्च कटाएर कोषमा १५ हजार पाँच सय १५ रुपियाँ पठाएको शिक्षक लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।
बाढीप्रभावितको घाउमा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले दैनिक खाजा खर्च कटाएर उक्त सहयोग गरिएको उहाँले बताउनुभयो ।
यसैगरी चौतारा साँगचोकगढी नगरपालिकास्थित श्री कृष्णरत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि १८ हजार रुपियाँ कोषमा पठाएका छन् ।
कक्षा ५ देखि १० सम्मका छात्रछात्राहरूले उक्त रकम संकलन गरेर कोषमा पठाएका हुन् । सिन्धुपाल्चोकका विभिन्न विद्यालय, संघसंस्था, स्थानीय तहहरूले कोषमा सहयोग रकम पठाएका छन् ।



