राज याक्खा/ताप्लेजुङ
फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले उक्त नगर प्रमुखको पत्र कार्यान्वयन हुँदा विद्यालय सञ्चालन तथा व्यवस्थापनमा बाधा पुग्न सक्ने देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म नगरपालिकाको च.नं. ११३, मिति २०८३/०४/१२ को पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवादलाई लिएर संजय लिम्बु सुब्बाले फुङ्लिङ नगरपालिका, नगर प्रमुखलगायतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा उत्प्रेषणसम्बन्धी रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेशसहित अन्तरिम आदेश जारी गरेको हो।
अदालतको आदेशमा २०८३ साल वैशाख १५ गते भएको विद्यालयको अभिभावक भेलाबाट जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुब्बा चयन भएको र सुब्बाले त्यसपछि निरन्तर रूपमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको खुलाएको छ।
सर्वोच्चको पछिल्लो अन्तरिम आदेशले नगरपालिकाको उक्त रोकसम्बन्धी पत्र तत्काल कार्यान्वयन गर्न नपाइने भए सङ्गै नगर कार्यपालिका बैठक बसी सञ्जय लिम्बु सुब्बालाई विद्यालय व्यवस्थापन समिति अध्यक्षको कामकाज गर्न सिफारिस गरेको हो। यो सङ्गै लिम्बू जिम्मेवारीमा रहेर पुनः काम गर्न पाउने बाटो खुलेको छ।

अदालतले विपक्षीहरूलाई आदेशको जानकारी प्राप्त भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको छ। मुद्दाको अन्तिम फैसला भने आउन बाँकी रहेकाले विद्यालय व्यवस्थापन समितिको विवादको पूर्ण कानुनी टुंगो सर्वोच्च अदालतको अन्तिम निर्णयपछि मात्र हुनेछ।



