इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली खण्डमा पुनः पहिरो झरेपछि ठूला सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। साना सवारीसाधन भने सञ्चालनमा रहेका छन्।
शुक्रबार साँझ सो क्षेत्रमा पहिरो झरेपछि आज बिहानसम्म ठूला सवारीसाधन रोकिएका थिए। सडक मर्मतपछि बिहानदेखि अवरुद्ध सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका थिए। तर, केहीबेरअघि एउटा ट्रक गुडिरहेको समयमा पुनः ढिस्को खस्दा राजमार्ग फेरि अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार हाल ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने साना सवारीसाधन पास भइरहेका छन्। उनका अनुसार सडक खुलाउने प्रयास जारी रहे पनि पहिरो निरन्तर खसिरहेकाले पूर्ण रूपमा सञ्चालन कहिलेबाट हुने भन्ने यकिन गर्न सकिने अवस्था छैन।
भट्टराईले उक्त क्षेत्रमा रातिको समयमा मर्मत कार्य गर्न जोखिमपूर्ण भएकाले आज राति नै ठूला सवारीसाधन सञ्चालन हुने सम्भावना न्यून रहेको बताए। उनले सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेको जानकारी दिए।
गत असोज १८ र १९ गतेको बाढीपहिरोपछि राजदुवाली क्षेत्रमा मेची राजमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको छ। मर्मत तथा स्थायी समाधानका काम जारी रहे पनि ती कार्य कहिले सम्पन्न हुने भन्ने अझै निश्चित हुन सकेको छैन।



