राज याक्खा,ताप्लेजुङ्
ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ७ सुरूमखिममा निर्माण सम्पन्न भएका वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन तथा बर्थिङ केन्द्र एकैसाथ उद्घाटन गरिएको छ। २०८२ साल पौष २५ गते आयोजित भव्य उद्घाटन समारोहका बीच यी भवनहरू सफलतापूर्वक सञ्चालनमा ल्याइएको हो।
उक्त कार्यक्रमका प्रमुख अतिथि सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राई रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सिदिङवा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी करडिया (बन्दना) उपस्थित हुनुहुन्थ्यो। साथै वडा नं. ७ का वडा अध्यक्ष लक्ष्मण तामाङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र अधिकारी, अन्य वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष मानबहादुर राईले गाउँपालिकाले नागरिकलाई घरदैलोमै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो। वडा कार्यालय, स्वास्थ्य चौकी र बर्थिङ केन्द्र एकैसाथ सञ्चालनमा आउनुले स्थानीय जनताको सेवा प्रवाह अझ प्रभावकारी, सहज र विश्वासिलो हुने उहाँको भनाइ थियो।




नव–निर्मित यी भवनहरू कुल १ करोड ५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका हुन्। विशेषगरी बर्थिङ केन्द्र सञ्चालनमा आएसँगै गर्भवती महिलाहरूले सुरक्षित र सुलभ स्वास्थ्य सेवा आफ्नै वडामा पाउने अपेक्षा गरिएको छ। यसले मातृ तथा शिशु मृत्यु दर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

स्थानीयवासीहरूले समेत गाउँपालिकाको यो कदमलाई स्वागत गर्दै विकास र सेवाको क्षेत्रमा सिदिङवा गाउँपालिका उदाहरणीय बन्दै गएको प्रतिक्रिया दिएका छन्। उद्घाटनसँगै भवनहरू पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ।



