पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

अजेन्द्र वाईबा तामाङ
साउन ९ ,पाँचथर
पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार, छिमेकी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागितामा बेठी सम्पन्न भएको हो।
बिहानैदेखि चापागाईँको घरमा चहलपहल बढेको थियो। महिलाहरू कोही खाना पकाउने, कोही फलाहार तयार गर्ने, कोही दोपहर (पुवा) बनाउने तथा कोही दुना–टपरी गाँस्ने काममा व्यस्त थिए। यसैबीच नौमती बाजा बजाउँदै बाजागाजाको टोली घरमा आइपुगेपछि उनीहरूको स्वागत र भोजन गराइएको थियो।
भोजनपछि करिब १०० जनाको टोली बेँसीतर्फ प्रस्थान गरेको थियो। अघिअघि नौमती बाजा गुञ्जिरहेको थियो भने पछिपछि स्थानीयहरू गीत गाउँदै र नाच्दै अघि बढेका थिए। करिब एक घण्टाको पैदल यात्रापछि टोली फिदिम–५ को मताने बेँसी पुगेको थियो।
खेतमा पुगेपछि चार हल गोरु जोतेर रोपाइँको तयारी गरिएको थियो। ब्याडेहरूले धानको बीउ काढ्ने, बाउसेहरूले हिलो आली गर्ने तथा रोपाहारहरूले फ्याउरी र दाँते लगाउँदै धान रोप्ने कार्य गरेका थिए। रोपाइँका क्रममा सहभागीहरूले एकअर्कालाई हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरेका थिए, जसले बेठीको रौनक अझ बढाएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले बेठी नेपाली समाजको सामूहिक श्रम, आपसी सहयोग, एकता र मौलिक संस्कृतिको जीवन्त उदाहरण भएको उल्लेख गर्दै यस्ता परम्पराको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
स्थानीयका अनुसार आधुनिक कृषि प्रविधिको विस्तारसँगै गाउँघरमा बेठी प्रथा हराउँदै गए पनि पाँचथरका केही स्थानमा अझै सामूहिक रूपमा यसलाई निरन्तरता दिइँदै आएको छ। यस वर्षको बेठीले परम्परागत कृषि संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढाउनुका साथै सामाजिक सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु