अजेन्द्र वाईबा तामाङ
असार ,१० पाँचथर
समुदायमा आईपर्न सक्ने विभिन्न प्रकारका विपद् तथा आगलागीजन्य घटनाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म हेक्वा हिमशिखर, पाँचथरको आयोजनामा “Fire Fighting Demonstration” कार्यक्रम सम्पन्न गरिएको छ।
पाँचथरको फिदिम नगरपालिका–४, जोरसालस्थित श्री सुखबोध माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा आगलागीका घटनामा अपनाउनुपर्ने सावधानी, आगो नियन्त्रणका प्रारम्भिक उपायहरू तथा आगो निभाउने उपकरणहरूको प्रयोगसम्बन्धी व्यावहारिक प्रदर्शन गरिएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रशिक्षित सुरक्षाकर्मीहरूले आगलागी हुँदा आत्तिनु नहुने, समयमै उद्धार तथा नियन्त्रणका उपाय अवलम्बन गर्नुपर्ने तथा समुदायस्तरमै विपद् व्यवस्थापनका आधारभूत सीपहरू विकास गर्नुपर्ने विषयमा जानकारी गराएका थिए। साथै, अग्नि नियन्त्रक (Fire Extinguisher) को सही प्रयोग, ग्यास तथा विद्युतीय कारणबाट हुने आगलागी नियन्त्रणका उपायहरूबारे प्रत्यक्ष अभ्याससमेत गराइएको थियो।
उक्त कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले फायर फाइटिङ सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरेको बताउँदै यस्ता कार्यक्रमले विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म हेक्वा हिमशिखर, पाँचथरले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिँदै समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने जनाएको छ।



