“बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

 

ताप्लेजुङ २०८३ जेष्ठ १०

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ।

मेहेले भञ्ज्याङ हुँदै हेङ्खापु–थामडाँडा जोड्ने मोटरबाटो खन्ने क्रममा दुईवटा मुख्य खानेपानी लाइन क्षतिग्रस्त बनेपछि साविक वडा नं. ९, ८, ७, ६ र ३ का स्थानीय महिनौं दिन देखि स्वच्छ खानेपानीबाट वञ्चित छन्।

यसको प्रत्यक्ष असर मेहेलेको एक मात्र माध्यमिक विद्यालय निलगिरी माध्यमिक विद्यालय मा समेत परेको स्थानीयले बताएका छन्। विद्यालयमा नियमित खानेपानी नहुँदा विद्यार्थीहरूलाई शौचालय प्रयोग, सरसफाइ तथा दैनिक पठनपाठनमै समस्या भइरहेको गुनासो छ।

स्थानीयका अनुसार सडक निर्माण कार्य कहिले हेङ्खापु, कहिले थामडाँडातर्फ गर्दै बीचमै रोकिने गरेको छ। अघिल्लो पल्ट खानेपानी लाइन मर्मत गरिएको केही समय नबित्दै पुनः बाटो खन्ने निहुँमा डोजर पाइप लाइन भत्काइने गरिएको आरोप स्थानीयले लगाएका छन्।

खानेपानी पाइपलाइन बिग्रिए पछि हाल सडक निर्माणमा प्रयोग भइरहेको मेसिन कहाँ रहेको भन्ने समेत स्पष्ट जानकारी नभएको स्थानीयको भनाइ छ।

पाइपलाइन पूर्ण रूपमा नष्ट भएपछि स्थानीय अहिले खोल्सा, वर्षाको पानी तथा छानाबाट झरेको पानी प्रयोग गर्न बाध्य छन्।

स्थानीयहरुले सम्बन्धित निकायसँग गम्भीर प्रश्न उठाएका छन् —सडक निर्माण कार्य आखिर कहिले सम्पन्न हुन्छ ? अहिले सडक खन्ने काम किन रोकिएको छ ? क्षतिग्रस्त खानेपानी लाइन कहिलेदेखि नियमित सञ्चालनमा आउँछ ? विद्यालय र स्थानीयलाई खानेपानीको व्यवस्था कहिले गरिन्छ ? जनताको आधारभूत आवश्यकता सुनिश्चित गर्ने जिम्मेवारी कसले लिने ?

खानेपानी उपभोक्ता समितिको नेतृत्व समेत हालका वडा अध्यक्षकै हातमा रहेको अवस्थामा समस्या समाधानमा प्रभावकारी पहल नदेखिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

“न बाटो पूरा भयो, न पानी आयो, अब त विद्यालयसमेत प्रभावित भयो,” एक स्थानीयले गुनासो गरेका छन्।

स्थानीयवासीले तत्काल खानेपानी सेवा पुनः सञ्चालन गर्न, विद्यालयलाई प्राथमिकतामा राखेर पानीको व्यवस्था गर्न तथा सडक निर्माण कार्यलाई जिम्मेवार ढंगले अघि बढाउन गाउँपालिका र सम्बन्धित निकायसँग माग गरेका छन्।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट