पोल्याण्ड नेपाल डट कमले ‘युवा वर्ष सम्मान’ अन्तर्गत पोल्याण्डमा सक्रिय युवा व्यक्तित्व मुकुल बोहोरालाई सम्मान गरेको छ। नेपाली समुदायमा पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै एक विशेष कार्यक्रमका बीच उहाँलाई सम्मानपत्र प्रदान गरिएको हो। बोहोरा सन् २०१७ जुलाईमा उच्च शिक्षा अध्ययनका लागि पोल्याण्ड पुग्नुभएको थियो। उहाँले Business Administration विषयमा Bachelor Degree हासिल गर्नुभएको छ।
अध्ययनसँगै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका बोहोरा विगत ५–६ वर्षदेखि प्रत्येक वर्ष खेलकुद कार्यक्रम आयोजना गर्दै आउनुभएको छ। फुटबल, भलिबल लगायतका विभिन्न प्रतियोगिता सञ्चालन गरी उहाँले पोल्याण्डमा रहेका नेपाली युवाबीच एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ।
‘
युवा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यसअघि पनि विभिन्न क्षेत्रमा योगदान पुर्याउने युवाहरूलाई सम्मान गरिँदै आएको छ। यसअघि कलस खरेल, शिवधर महत्तो, सुशन परियार, उदय राज गिरी र अनिल पौडेललाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले बोहोराको सक्रियता, नेतृत्व क्षमता र सामाजिक सेवाभावको प्रशंसा गर्दै विदेशमा रहेर पनि नेपाली समुदायलाई संगठित र सशक्त बनाउने उहाँको प्रयास अनुकरणीय रहेको बताए।
सम्मान ग्रहण गर्दै बोहोराले सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि समुदायको हितका लागि अझ जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजकका अनुसार यस सम्मानले पोल्याण्डमा रहेका नेपाली युवाहरूमा थप उत्साह र प्रेरणा प्रदान गरेको छ।



