संवेदनशील मतदान क्षेत्रमा हेलिकोप्टरबाट पनि गस्ती, जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स

संवेदनशील मतदान क्षेत्रमा हेलिकोप्टरबाट पनि गस्ती, जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स

दैनिक समीक्षा, अन्तरनिकाय समन्वय र जोखिम विश्लेषणमा आधारित कडा सुरक्षा घेराबिच देशभर मतदान हुँदै छ । तीन लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, संवेदनशील क्षेत्रमा हेलिकोप्टर गस्ती, जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स र प्रविधिमैत्री ‘लाइभ’ निगरानी प्रणालीमार्फत सुरक्षा व्यवस्था कडाइ गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मनोनयनदेखि मौन अवधिसम्म छिटपुट घटनाबाहेक कुनै गम्भीर निर्वाचनविरोधी गतिविधि नभएको मन्त्रालयको भनाइ छ । निर्वाचन सुरक्षा तयारी विगतको तुलनामा थप चुस्त र समन्वयात्मक रहेको गृह मन्त्रालयले बताएको छ । मतदानको अघिल्लो दिन केही ठाउँमा सामान्य तनाव देखिएका छन् ।

स–साना विषयहरूसमेत केलाएर सुरक्षा योजना कार्यान्वयन गरिएको र सुरक्षा निकायहरूबिचको समन्वय विगतमा भन्दा राम्रो भएकाले यसपटक निर्वाचन तयारी शान्तिपूर्ण भएको गृहप्रवक्ता आनन्द काफ्लेले बताए । ‘यसपटक सुरक्षाकर्मीको संख्या पनि धेरै परिचालन गरिएको छ, अनुगमन र निरीक्षणको पक्ष पनि बलियो रह्यो,’ उनी भन्छन्, ‘हामीले दैनिक बैठक बसेर सुरक्षाको समीक्षा गर्‍यौँ, जसकारण विगतमा भन्दा सुरक्षा चुस्त भएको छ, निर्वाचनको दिनलाई पनि शान्तिपूर्ण बनाउने प्रयासमा छौँ ।’

निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले पनि सुरक्षा अवस्थाको समीक्षा गरेको छ । साथै परिषद्ले निर्वाचन र निर्वाचनपछिका चुनौतीलाई समेत मध्यनजर गर्दै रणनीति तय गरेको छ ।

निर्वाचनमा यसपटक तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी खटिएका छन् । ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ४९७ नेपाल प्रहरी, ३४ हजार ५७६ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभाग र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन् ।

निर्वाचन शान्तिपूर्ण गर्न मतदानस्थलमा पनि यसपटक विगतमा भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । अतिसंवेदनशील मतदानस्थलमा १३ जनासम्म सुरक्षाकर्मी खटिनेछन् । गृह मन्त्रालयले दुई हजार ८४५ मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा वर्गीकरण गरी त्यहीअनुसार सुरक्षा निकायको परिचालन गरेको छ ।

साथै संवेदनशील जिल्लामा वरिष्ठ प्रहरी अधिकृत खटिएका छन् । उपत्यकाका १५ निर्वाचन क्षेत्रमा एसपी तथा उपत्यकाबाहिर १५० निर्वाचन क्षेत्रमा डिएसपीको कमान्डमा प्रहरी खटाइएको छ । दोलखालगायत केही पहाडी जिल्लामा एसएसपीलाई खटाइएको छ ।

निर्वाचनमा हेलिकोप्टरमार्फत गस्ती हुने 
निर्वाचनको दिन नेपाली सेनाले हेलिकोप्टरमार्फत समेत गस्ती गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षाका दृष्टिकोणले संवेदनशील तथा दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत गस्ती गर्ने निर्णय गरेको हो । हरेक निर्वाचन क्षेत्रमा यसअघि नै सशस्त्र प्रहरी र नेपाली सेनाले बेस बनाएर नियमित गस्ती गरिरहेका छन् । कतै समस्या आएमा खटिनका लागि काठमाडौंसहित इटहरी, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । निजी हेलिकोप्टर पनि प्रयोग गर्ने सरकारको तयारी छ ।

जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स 
निर्वाचनमा कतै समस्या आएमा थप मद्दतका लागि खटिन नेपाल प्रहरीले जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स राखेको छ । केन्द्रमा एसपीको कमान्डमा दुईवटा रिजर्भ फोर्स राखिएको छ । प्रदेशमा वरिष्ठ अधिकृतको कमान्डमा र जिल्लामा पनि कम्तीमा दुईवटा यस्तो फौज तयारी अवस्थामा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हरेक मतदानस्थलको गतिविधि ‘लाइभ’ मनिटरिङ 
हरेक मतदानस्थलको गतिविधि ‘लाइभ’ हुने गरी प्रहरी प्रधान कार्यालयले ‘इलेक्सन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम(इएमआइएस) सञ्चालनमा ल्याएको छ । निर्वाचन व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउन यो प्रणाली कार्यान्वयनमा ल्याइएको र देशभरिको मतदानस्थलको विवरण एकैपटक प्रधान कार्यालयबाट ‘लाइभ’ मनिटरिङ गर्न सकिने प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए ।

‘निर्वाचन सुरक्षा तथा व्यवस्थापन थप व्यवस्थित एवं छिटो बनाउन नेपाल प्रहरीले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेको छ । यसका आधारमा देशभरका सबै मतदानस्थलको सुरक्षा व्यवस्थापनबारे प्रहरी प्रधान कार्यालयस्थित कमान्ड सेन्टरबाट नै निगरानी गर्न र आवश्यकताअनुसार कमान्ड सेन्टरबाट नै आवश्यक निर्देशन दिन सकिनेछ,’ उनी भन्छन्, ‘यसले निर्वाचनको समयमा मतदानस्थलको सुरक्षालाई थप मजबुत बनाउन सहयोग गरेको छ ।’

यसैगरी देशभर एआई फिचरसहित जडान भएका ७८६ वटा सिसिटिभीबाट निर्वाचन सुरक्षा व्यवस्थापनसम्बन्धी गतिविधिहरू कमान्ड सेन्टरबाटै नै प्रत्यक्ष निगरानी हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै, सातवटा सीमा नाकाका २२ वटा, काठमाडौंभित्र मुख्य चेकप्वाइन्ट, चोक गरी सात सयवटा तथा काठमाडौंबाहिर विराटनगर र वीरगन्जमा ६४ वटा सिसिटिभी जडानसमेत गरेर निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

दुई मतदान अधिकृत, एक प्रहरी र ११ निर्वाचन प्रहरीको ड्युटीका क्रममा निधन 
निर्वाचनको जिम्मेवारीमा खटेका १४ जनाले ड्युटीकै क्रममा ज्यान गुमाएका छन् । दुई मतदान अधिकृत, एक प्रहरी र ११ जना निर्वाचन प्रहरीले ज्यान गुमाएका हुन् । धेरैजसोले दुर्घटनामा ज्यान गुमाएका छन् ।

गत सोमबार रामेछापको मन्थलीमा भएको दुर्घटनामा मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरीका असइ परशुराम यादवको मृत्यु भएको थियो । मतदान सामग्री बोकेर मतदानस्थलतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । त्यसमा अन्य सातजना घाइते भएका थिए । आइतबार मुस्ताङमा भएको दुर्घटनामा मतदान अधिकृत सुनील घतानेले ज्यान गुमाए । थासाङ गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा उनले ज्यान गुमाएका हुन् ।

त्यस्तै, विभिन्न कारणले ११ निर्वाचन प्रहरीले ज्यान गुमाएका छन् । बैतडीमा मात्र तीनजना निर्वाचन प्रहरीले ज्यान गुमाएका छन् । जसमध्ये एकजनाको भिरबाट लडेर मृत्यु भएको हो । २० माघमा प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएको हो । ११ फागुनमा राजेन्द्रप्रसाद भट्ट तथा ८ फागुनमा महादेव वडको एक्कासि बेहोस भएर मृत्यु भएको हो । मकवानपुर, कञ्चनपुर, रूपन्देही, बारा, महोत्तरी, नवलपरासी र रौतटहमा पनि निर्वाचन प्रहरीको विविध कारणले ड्युटीकै क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

६१ स्थानबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन हुने 

बिहीबार निर्वाचन सम्पन्न भएपछि ६१ स्थानबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने भएको छ । गृह मन्त्रालयका अनुसार दुर्गम क्षेत्रका करिब एक सय मतदानस्थलको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरी मतगणनास्थलमा लगिनेछ । मतदान अधिकृतकै नेतृत्व र सुरक्षाकर्मीको सुरक्षा घेरामा यसरी मतपेटिका संकलन गरिने गृह मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्य सुवेदीले बताइन् । ‘१५ जिल्लाका ६१ स्थानबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिनेछ,’ उनले भनिन्, ‘आवश्यकता परेमा थप क्षेत्रको पनि हेलिकोप्टरमार्फत नै संकलनका लागि तयारी अवस्थामा छौँ ।’

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट