जेन–जी आन्दोलनपछि देशभर २५० जना पक्राउ, तीन प्रहरीको हत्या प्रकरणमा १२ पक्राउ

काठमाडौं — भदौ २३ र २४ गते देशभर फैलिएको ‘जेन–जी आन्दोलन’ पछि प्रहरीले हालसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ। आन्दोलनका क्रममा गोली लागेर १७ जनाको मृत्यु भएपछि भोलिपल्ट आक्रोशित प्रदर्शनकारीहरूले सरकारी तथा व्यावसायिक भवनहरूमा आगजनी, तोडफोड गर्नुका साथै प्रहरीको हत्या समेत गरेका थिए।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार देशभर २४५ जनाभन्दा बढीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। तीमध्ये काठमाडौं उपत्यकामा मात्रै ११० जना पक्राउ परेका छन्।

काठमाडौंमा तीन प्रहरीको हत्या प्रकरणमा १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। भदौ २४ गते महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको प्रदर्शनकारीहरूले हत्या गरेका थिए।

त्यसैदिन प्रदर्शनकारीहरूले संसद भवनदेखि सिंहदरबार र सर्वोच्च अदालतसम्मका सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका थिए। साथै भाटभटेनी सुपरस्टोर, हिल्टन होटल, हायात होटल तथा केही राजनीतिक नेताहरूका निजी घर र पार्टी कार्यालयहरू पनि आक्रमणको निशानामा परेका थिए।

प्रहरीले सिसिटिभी फुटेज र भिडिओका आधारमा करिब १०० जनामाथि आपराधिक उपद्रवको अनुसन्धान अघि बढाएको जनाएको छ। त्यसबाहेक हातहतियार लुटेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्।

परिसरका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार, काठमाडौंमा पक्राउ परेकामध्ये ६ जना पुर्पक्षका लागि कारागारमा, ३२ जना प्रहरी हिरासतमा र ७२ जना हाजिर जमानीमा छन्।

ललितपुरमा पनि थुप्रै सरकारी तथा निजी भवनमा आगजनी र तोडफोड भएको छ। त्यहाँ आपराधिक उपद्रवमा १३ जना, चोरी र संगठित अपराधमा ७ जना, हातहतियार मुद्दामा १ जना र डाँका–चोरीमा ४ जना पक्राउ परेका छन्।

भक्तपुरमा १७ जना, धनुषामा ८ जना, पर्सा र बारामा ७–७ जना, चितवनमा १६ जना, नवलपरासीमा १४ जना, बर्दियामा ४ जना, रूपन्देहीमा ८ जना, बझाङमा ४ जना, र बाँकेमा मेयरको गाडी जलाएको अभियोगमा ७ जना पक्राउ परेका छन्।

त्यस्तै धादिङ, काभ्रे, पर्वत, म्याग्दी लगायतका जिल्लाबाट पनि प्रदर्शनमा संलग्न आरोपमा दर्जनौं व्यक्तिहरू पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये धेरैजनामाथि आपराधिक उपद्रव, चोरी, संगठित अपराध र अभद्र व्यवहारका मुद्दा दायर गरेर अनुसन्धान अघि बढाइएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट