बुटवल – पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित १२ जनालाई संगठित सहकारी ठगीको आरोपमा पक्राउ गर्न रूपन्देही जिल्ला अदालतले अनुमति दिएको छ। बुटवलस्थित सुप्रिम सहकारीमा बचत अपचलनसम्बन्धी उजुरीका आधारमा उनीहरूविरुद्ध अनुसन्धान गर्न बिहीबार अदालतले अनुमति दिएको हो।
यसैसाथ, रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीको पनि पक्राउ अनुमति दिएको छ। सुप्रिम सहकारीबाट आचार्य, अधिकारी र नोबडी प्रोडक्सन कम्पनीका नाममा २ करोड ३१ लाख १५ हजार रुपैयाँ गएकाे देखिएको छ। यद्यपि नोबडी प्रोडक्सन अधिकारीको नाममा भए पनि मुख्य हर्ताकर्ता आचार्य रहेको बताइएको छ।
यसअघि, पोखरास्थित सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा कास्की प्रहरीले गत भदौ ८ मा आचार्यसँग बयान लिएको थियो। सुप्रिम सहकारीका बचतकर्ता नारायणबहादुर पहराईको उजुरीका आधारमा पक्राउका लागि अदालतमा माग गरिएको थियो। न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि १२ जनालाई पक्राउ अनुमति दिएको हो।



