अजेन्द्र वाईबा तामाङ
असार ११,पाँचथर
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जून २६) को अवसरमा देशभर सप्ताहव्यापी रूपमा सञ्चालन भइरहेको “लागू औषधको चुनौती चिनौंः सामाजिक समाधानको बाटो खोजौं” भन्ने नारालाई आत्मसात गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. २ गुल्म हे.क्वा हिमशिखर, पाँचथरले फिदिममा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
आज फिदिम नगरपालिका–१ स्थित फिदिम माध्यमिक विद्यालयमा विद्यालयका शिक्षक, शिक्षिका तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा “लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध” सचेतनामूलक कक्षा सञ्चालन गरिएको हो।
कार्यक्रममा लागू औषध सेवन तथा ओसारपसारका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभाव, कानुनी व्यवस्था, लागू औषधबाट बच्ने उपाय तथा युवावर्गको भूमिका सम्बन्धी जानकारी प्रदान गरिएको थियो। प्रशिक्षकहरूले लागू औषधको कुलतले युवाको भविष्य मात्र होइन, समग्र समाजलाई समेत असर पार्ने भएकाले समयमै सचेत हुनुपर्नेमा जोड दिएका थिए।
विद्यालयका शिक्षक–शिक्षिकाहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मअनुशासन र जिम्मेवारीबोधको विकास गर्न सहयोग पुग्ने बताएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि लागू औषधका जोखिम तथा त्यसबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए।
सशस्त्र प्रहरी बलले विद्यालय तहबाटै सचेतना अभिवृद्धि गरी लागू औषधमुक्त समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। शिक्षक, शिक्षिका र विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले युवापुस्तामा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास लिइएको छ।



