राज याक्खा,
सिनाम युनाइटेड तथा सांस्कृतिक क्लबद्वारा आयोजना गरिएको बृहत तेस्रो चासोक मेला २०८२ आजदेखि भव्य रूपमा प्रारम्भ भएको छ। स्थानीय संस्कृति, खेलकुद उत्साह र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइने यस मेलाको पहिलो दिनकै गतिविधिले व्यापक आकर्षण पैदा गरेको छ।

उद्घाटन सत्रअन्तर्गत आज पहिलो खेल आयोजक ‘A’ र आयोजक ‘C’ बीच सम्पन्न भयो। प्रारम्भिक खेलले मेलाको वातावरणलाई थप उत्साहप्रद बनाएको छ। त्यसपछिको दोस्रो प्रतिस्पर्धामा चाक्सीबोटे फुटबल क्लबले आयोजक ‘D’ लाई प्रभावशाली ४–० को फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ। चाक्सीबोटेको प्रदर्शनले दर्शकहरुलाई रोमाञ्चिक बनाएको छ र आगामी खेलप्रति अझै ठूलो अपेक्षा बढाएको छ।

यसै मेलाको विशेष अवसर पारेर मंसिर १८ गते साँझ राष्ट्रियस्तरका लोकप्रिय कलाकारहरू—
**नगेन लिम्बु, प्रीति आले मगर, ताप्लेजुङका गौरव छोरा वीरेन्द्र श्रेष्ठ, गङ्गा फ्याक, हेमा माबो लिम्बु, अक्का लामा, प्रीति थलङ, निरज ठाकुर तथा आलब मेन्याङबो लिम्बू—**ले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ। उनीहरूको आगमनले मेलाको सांस्कृतिक भव्यता झनै उत्कर्षमा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

सांस्कृतिक सम्पदा, खेलकुद र मनोरञ्जनलाई एउटै मंचमा एकीकृत गर्दै चासोक मेला यस वर्ष पनि समुदायबीच एकता, उत्साह र गौरवको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।




