सुरेन्द्र खरेल, पाँचथर
नेपाल कृषिप्रधान देश भए पनि यहाँका किसानले आफूलाई आवश्यक सहयोग र सुविधा प्राप्त गर्न सकेका छैनन्। खासगरी बैंक तथा वित्तीय संस्थाबाट कृषि ऋण लिने कुरा किसानका लागि झनै चुनौतीपूर्ण बनेको छ।
कृषकले खेतीका लागि सिंचाइको पम्प, मल बिउ, वा आधुनिक उपकरण किन्ने उद्देश्यले बैंकमा कृषि ऋण माग्दा उनीहरूले जमानत र कागजी प्रक्रियामा फस्नुपर्छ। ऋण प्राप्त गर्न धेरै कठिनाइ झेल्नुपर्छ। तर, त्यही बैंकमा गाडी, घर, वा जग्गा किन्न ऋण माग्दा भने सजिलै दिने गरिन्छ। यसले कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको स्पष्ट पार्छ।
कृषि पेशाको महत्वलाई बुझेर यस क्षेत्रमा लगानी गर्नुपर्ने बेला आएको छ। बैंकहरूले कृषकलाई सहज ऋण उपलब्ध गराउन प्रक्रिया सरल बनाउनुपर्छ। सरकार र निजी क्षेत्रले पनि यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ। कृषिमा लगानी अभावकै कारण आज किसानहरूले आफ्नो पेशा छोडेर वैदेशिक रोजगारीतर्फ आकर्षित हुने क्रम बढेको छ।
नेपालको समृद्धिका लागि कृषकलाई सहयोगी वातावरण बनाउन अब ढिला गर्नु हुँदैन। यदि कृषकलाई आवश्यक साधन र सुविधा सहज रूपमा उपलब्ध गराउन सकियो भने मात्र देश आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छ।



