युएई, १५ डिसेम्बर २०२४ – प्रकृति पुजक याक्थुङहरुको महान चाड़ चासोक तङ्नाम यले तङ्बे ५०८४ मनाउने क्रममा डिसेम्बर १५, २०२४ आईतबार सदाझैँ किरात याक्थुङ चुम्लुङ युएईले याक्थुङ/लिम्बु समुदायको जीवन्त संस्कृतिलाई क्लब याक एण्ड यतिको हलमा भव्य आयोजना गरि चासोक तङ्नाम मनाएको थियो।
याक्थुङ/ लिम्बुहरुको भूमि र प्रकृतिसँग गहिरो सम्बन्ध रहेकोले चासोक अथवा न्वागी पुजा बिशेष उत्सवको रुपमा मनाइन्छ।
चासोक मनाउन भनेर युएईका विभिन्न स्थानबाट अतिथिहरुको भब्य उपस्थिति रहेको थियो। प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष साथै चुम्लुङ युएईका सल्लाहकार बिक्रम पंधाक हुनुहुन्थियो भने महासंघका संरक्षकहरु साथै संघीय लिम्बुवान सामाजिक मञ्च युएई केन्द्रिय समिति र क्षेत्रिय समिति अल ऐन, ग्लोबल एनआरएनए एनसीसी युएई आदि बिशेष अतिथि आमन्त्रित थिए ।
किरात याक्थुङ चुम्लुङ युएईमा आबद्ध रही योगदान पुर्याउनु भएका भुतपुर्व अध्यक्ष सरोज पयाङ्गो, प्रमुख सल्लाहकार राजु कुरुम्बाङ, सल्लाहकारहरु क्रमश: डम्बर लिबाङ, योगेश निङ्लेकु, खड्ग पन्धाक, नन्द ताम्लिङ, दीपराज नियोङहाङ पनि बिशेष अतिथिमा आमन्त्रित थिए। अन्य अतिथिमा महासंघमा आबद्ध जातिय संस्थाहरु, युएईमा रहेका लिम्बुजन्य संघ-संस्थाहरु,जिल्ला स्तरिय संस्थाहरु र पत्रकार शलाल बहादुर ढेंगा हुनुहुन्थियो।
कार्यक्रमलाई प्रमुख अतिथि, सभापति र आमन्त्रित अतिथिहरुबाट दिप प्रज्वलन गरि राष्ट्रिय गान गाएर औपचारिक सुरुवात गरिएको थियो भने मौलिक नृत्य केलाङ द्वारा अतिथिहरुलाई लाम्दाक गरिएको थियो।
कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै बरिष्ठ उपाध्यक्ष पोबो थेबे सेमीले स्वागत मन्तब्य राख्नु भएको थियो भने उपाध्यक्ष साथै कार्यक्रम संयोजक साम्माङ् बिक्रम वाजिहाङले शुभकामना मन्तब्य राख्नु भएको थियो। समग्रमा शुभकामना मन्तब्य राख्ने क्रममा आमन्त्रित अतिथिहरुले युएईमा रहेको याक्थुङ/लिम्बु समुदायको सक्रियताको प्रशंसा गर्दै युएई स्थित सबै लिम्बु समुदाय एक भएर अघि बढेको र आगामी दिनमा संयुक्त आयोजनामा चासोक तंगनाम कार्यक्रम भएको हेर्ने इच्छा रहेको ब्यक्त गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल बहादुर लावतीले सभालाई सम्बोधन गर्दै युएईमा छरिएर रहेका लिम्बुजन्य संस्थाहरुलाई एकबद्ध गरेर लाने र संयुक्त रुपमा बृहत कार्यक्रम आयोजना गर्ने योजना रहेको बताएका थिए ।
औपचारिक कार्यक्रममा नै प्रायोजकहरुलाई सधन्यबाद मायाको चिनो र आजीवन सदस्यता पनि वितरण गरिएको थियो भने किरात याक्थुङ चुम्लुङ युएईले याक्थुङ लिम्बु समुदायको हक हितमा काम गर्ने र आर्थिक, नैतिक, भौतिक रुपमा चुम्लुङ युएईमा रही बिशेष योगदान पुर्याउनुहुने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ, यसै क्रममा लिम्बु समुदायबाट भूतपूर्व उपाध्यक्ष सुनिता पाङ्मा लिम्बु र दुर्गा थोक्लेन साथै गैर लिम्बु समुदायबाट लोक बहादुर श्रेष्ठ लाई दोषल्ला ओढाई मायाको चिनो सहित सम्मान गरेको थियो।
सोहि अवसरमा समाजसेवी आदरणीय राम कुरुम्बाङ र केलाङ कलाकार संगीता कुरुम्बाङले चुम्लुङ युएइलाई १ थान के (च्याब्रुङ्) हस्तान्तरण गर्नु भएको थियो।

औपाचारिक कार्यक्रम महासचिव मनिषा खाम्दाक इङ्गाषा र सचिव बुद्ध लिङ्देनले सञ्चालन गर्नु भएको थियो।

अन्त्यमा केलाङ कलाकारहरुबाट परम्परागत नृत्य केलाङ, यालाङ संगै युएईमा रहेका स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो । साँस्कृतिक कार्यक्रमका सबै कलाकारहरुलाई मायाको चिनो र प्रमाणपत्र कार्यक्रम संयोजक लगायत अतिथिहरु द्वारा हस्तान्तरण गरिएको थियो। साँस्कृतिक कार्यक्रम महासचिव मनिषा खाम्दाक, प्रवक्ता यम्भामी भुमी इधिङ्गो, सदस्य राजु तुम्बापोले पालै पालो सञ्चालन गरेका थिए।
अतिथिहरुलाई खानाको व्यवस्था पनि गरिएको थियो भने चासोक कार्यक्रममा याक्थुङ लिम्बुहरु आफ्नै मौलिक पहिरन र गरगहनामा सजिएर उपस्थित भएका थिए।






