अजेन्द्र वाइबा तामाङ
चैत २८ पाँचथर
फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ।
जिल्ला अस्पताल पाँचथरमा सञ्चालन गरिएको उक्त शिविरबाट २४९ जना स्थानीय सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन्। शिविरमा २४७ जनाको मधुमेह परीक्षण गरिएको थियो भने ८७ जनाको ईसीजी परीक्षण गरिएको जानकारी आयोजकले दिएको छ।
त्यसैगरी, १२० जनाले मुटुरोग सम्बन्धी उपचार तथा परामर्श सेवा लिएका छन् भने १२९ जनाले टाउको तथा नसासम्बन्धी समस्याको परीक्षण तथा उपचार गराई निःशुल्क औषधि समेत प्रदान गरेका छन्।
कार्यक्रममा फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले अध्यक्षता गर्नुभएको थियो भने जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
स्वास्थ्य सेवामा पहुँच अभाव रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरले स्थानीय स्तरमै विशेषज्ञ सेवा प्रदान गर्दै समुदायलाई ठूलो राहत दिएको आयोजकको भनाइ रहेको छ।




