जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

अर्जुन निराैला

अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका साथै खेलाडी र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनको प्रमुख आतिथ्य तथा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोहन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा समूहका पदाधिकारी, उपभोक्ता, स्थानीयवासी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा समूहका उपाध्यक्ष लक्ष्मी राम शर्माले स्वागत मन्तव्य राखेका थिए भने सचिव उर्मिला कटुवालले कार्यक्रम सञ्चालन गरेकी थिइन्। त्यसैगरी, कोषाध्यक्ष मनिला जबेगु बजेट प्रस्तुत गरेकी थिइन्। लेखा परीक्षणसम्बन्धी प्रतिवेदन लेखा परीक्षण समितिका सदस्य अर्जुन निरौलाले प्रस्तुत गरेका थिए।

सभामा सामुदायिक वनको वार्षिक गतिविधि, आर्थिक अवस्था, वन संरक्षण तथा व्यवस्थापनका कार्य र आगामी योजनाका विषयमा जानकारी प्रस्तुत गरिएको थियो। सामुदायिक वनलाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउँदै वनबाट प्राप्त स्रोतसाधनको उचित सदुपयोग गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेलाडीहरूलाई सम्मान गरिएको थियो। खेलाडीहरूको मेहनत, अनुशासन र खेलकुदप्रतिको समर्पणको कदर गर्दै गरिएको सम्मानले स्थानीयस्तरमा खेलकुदको विकास तथा नयाँ पुस्तालाई खेल क्षेत्रमा प्रेरित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, समाजका अनुभवी तथा सम्मानित ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकको योगदानको कदर गर्दै उनीहरूप्रति सम्मान र सद्भाव प्रकट गर्ने उद्देश्यले गरिएको यस कार्यले सामाजिक सद्भाव, पुस्ताबीचको सम्बन्ध र आपसी सम्मानको भावनालाई थप बलियो बनाउने विश्वास लिइएको छ।

सामुदायिक वन केवल वन पैदावारको स्रोत मात्र नभई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना, सामाजिक एकता र सामुदायिक विकासको महत्वपूर्ण आधारसमेत हो। त्यसैले वनको दिगो संरक्षण, वन डढेलो नियन्त्रण, अवैध कटानी रोकथाम तथा वन्यजन्तुको बासस्थान संरक्षणमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको विषयमा पनि ध्यानाकर्षण गराइएको थियो।

सभाले विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा वन संरक्षण, उपभोक्ताको हित, आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

  • Related Posts

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    आगलागीबाट दुईवटा घर जलेर नष्ट

    अजेन्द्र वाईबा तामाङ असाेज २४ शनिबार पाँचथरको फिदिम नगरपालिका १३ चाम्लिङडाँडाका मोहन चाम्लिङकाे दुईवटा घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आज दिउँसो करिब १:३० बजे घरमा कोही नभएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित