राज याक्खा,
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगितामा फुङलिङ नगरपालिकाले प्रभावशाली प्रदर्शनसहित सेमिफाइनल स्थान सुरक्षित गरेको छ। सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा फुङलिङले फक्ताङलुङ गाउँपालिकालाई ३–० को ठोस अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।
खेलको ४५औँ मिनेटमा सम्झना लावतीले पहिलो गोल गर्दै फुङलिङलाई अग्रता दिलाइन्। त्यस्तै ४९औँ मिनेटमा सुजता लिम्बुले थप गोल गर्दै दोब्बर पारिन्। खेलको ५४औँ मिनेटमा समिक्षा मगरले तेस्रो गोल गर्दै जितलाई सहज बनाइन्। उत्कृष्ट प्रदर्शन गरेकी सम्झना लावती ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै ५ हजार रुपैयाँसहित ट्रफीले सम्मानित भइन्।
अब फुङलिङ नगरपालिकाले सेमिफाइनलमा मैवाखोला गाउँपालिकासँग भिड्नेछ। यता मंगलबारको चौथो क्वाटरफाइनलमा मेरिङदेन गाउँपालिका र सिदिङवा गाउँपालिकाबीच प्रतिस्पर्धा हुने बताइएको छ। विजेता टिमले ट्रफीसहित रु. २,०२,०८२ प्राप्त गर्नेछ भने उपविजेताले रु. १,०२,०८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
विधागत उत्कृष्ट खेलाडीलाई जनही ८ हजार, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार र हरेक खेलका म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।प्रतियोगिताको फाइनल मङ्सिर २० गते हुने आयोजकले जनाएको छ।



