पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे


अजेन्द्र वाईबा तामाङ
असाेज ५ पाँचथर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा सम्पर्क कार्यालय स्थापना गरेको छ भने अर्को पक्षले जिल्लाका ६० वटै वडामा नेतृत्व सर्वसम्मत चयन भइसकेको जनाएको छ।
फिदिम बजारको शनिबारेमा यसअघि नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको भवनमा स्थापना गरिएको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव तथा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डेकेन्द्र कुमार तामाङले बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेर गरेका हुन्।
त्यस्तै, नेपाली कांग्रेसका पूर्व उपसभापति जयप्रसाद रिजालले गमलामा पानी हालेर तथा क्षेत्रीय प्रतिनिधि यशोदा थापाले बत्ती बालेर कार्यालय उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा कुम्मायक गाउँपालिका तरुण दलका नेता खगेन्द्र सोडारी, सरोज बोम्जन, नरबहादुर तामाङ तथा कांग्रेस नेता मुक्ति तिम्सिनालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा १५औँ महाधिवेशनको तयारी, संगठनात्मक गतिविधि तथा आगामी अधिवेशनका कार्यक्रमबारे छलफल गरिएको बताइएको छ। कांग्रेसले सार्वजनिक गरेको तयारीअनुसार वडा अधिवेशन असोज १५ गतेदेखि, गाउँ/नगरपालिका अधिवेशन असोज २० गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते हुने जनाइएको छ।
यसैबीच, नेपाली कांग्रेस पाँचथरको अर्को पक्षले जिल्लाका ६० वटै वडामा पार्टीको नेतृत्व सर्वसम्मत चयन भइसकेको जनाएको छ। वडा तहको नेतृत्व चयन सम्पन्न भएको दाबी गर्दै उक्त पक्षले आगामी अधिवेशनका लागि संगठनात्मक तयारी अघि बढाएको जनाएको छ।
पाँचथरमा कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीका विभिन्न समूहले आ–आफ्नो पक्षबाट तयारी तथा संगठनात्मक गतिविधिलाई अगाडि बढाइरहेका छन्। जिल्लामा सम्पर्क कार्यालय स्थापना र वडा तहको नेतृत्व चयनका गतिविधिले महाधिवेशनको तयारी थप सक्रिय बनेको देखिएको छ।

  • Related Posts

    ईलामका कलाकार मुकेश र करिश्माकाे कसैको हुन सक्दिन भिडियो सर्बजनिक

    निशान निराैला असाेज ५ ईलाम इलामका कलाकार मुकेश गुरुङ र करिश्मा सुनुवारको मुख्य अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘कसैको हुन सक्दिनँ’ सार्वजनिक भएको छ। प्रेमकथामा आधारित यस म्युजिक भिडियोमा पुनम…

    फिदिम नगरपालिका एकमा वडा अधिबेशन सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज ४,फिदिम पाँचथर नेपाली कांग्रेस पाँचथरको १५औँ अधिवेशनअन्तर्गत फिदिम नगरपालिका–१ वडा कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ। जिल्ला सभापति रूपनारायण जबेगूको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कृष्णप्रसाद मिश्रको सभापतित्वमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    ईलामका कलाकार मुकेश र करिश्माकाे कसैको हुन सक्दिन भिडियो सर्बजनिक